News & Announcement
बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि नाट्टाको हार्दिक अपिल
Published on 31 August 2026•NATTA Secretariat

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि नाट्टाको हार्दिक अपिल
रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको आकस्मिक बाढीका कारण भएको जनधनको व्यापक क्षतिप्रति नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गहिरो दुःख तथा चिन्ता व्यक्त गर्दछ। यस अकल्पनीय र त्रासदीपूर्ण घडीमा बाढी प्रभावित सम्पूर्ण नागरिक, पर्यटक तथा पर्यटन व्यवसायीहरूको तत्काल उद्धार, उपचार र सुरक्षित स्थानान्तरणका लागि नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायलाई प्रभावकारी रूपमा परिचालन हुन नाट्टा जोडदार अपिल गर्दछ ।
यसै सन्दर्भमा, आज मिति २०८३ भदौ १० गते नाट्टा गण्डकी प्रदेशको ३१ औं साधारण सभाका दौरान सोही समय तथा स्थानमा बसेको नाट्टा कार्यसमितिको आकस्मिक बैठकले उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन देहाय बमोजिमका निर्णयहरू गरेको छः
१. समन्वय तथा सहजीकरणः बाढी प्रभावित नागरिक तथा पर्यटकहरूको तत्काल उद्धार, उपचार र सुरक्षित स्थानान्तरणका लागि नेपाल सरकार तथा सुरक्षा निकायहरूसँग निरन्तर आवश्यक समन्वय गर्ने ।
२. राहत कोष स्थापनाः ‘नाट्टा विपद्व्यवस्थापन तथा राहत कोष’ स्थापना गरी नाट्टाका सम्पूर्ण सदस्य संस्थाहरू, पर्यटन व्यवसायीहरू तथा शुभेच्छुकहरूबाट आर्थिक सहयोग एवं अत्यावश्यक राहत सामग्री संकलन गर्ने । आर्थिक सहयोग संकलनका लागी नाट्टाकोसनराईज बैंकमा रहेको Nepal Assoc. Tour & T.A. (Relief F) खाता नंः ००२१०२५०७७२०११ (A/C No. 00210250772011) नाट्टा विपद्व्यवस्थापन तथा राहत कोष सुचारु गर्ने ।
३. सवारीसाधन परिचालनः उद्धार तथा राहत कार्यलाई तीव्रता दिन आवश्यकताअनुसार नाट्टाका सदस्य संस्थाहरू मातहत रहेका पर्यटक बस, जीप तथा अन्य सवारीसाधनहरू परिचालन गर्ने ।
४. आकस्मिक सहायता कक्ष (Help Desk): बाढीका कारण अलपत्र परेका स्वदेशी तथा विदेशी पर्यटकहरूको तत्काल सहायता र समन्वयका लागि ’२४ घण्टे पर्यटक सहायता आकस्मिक कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याउने।
५. समिति गठनः सम्पूर्ण राहत तथा उद्धार कार्यलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन नाट्टाको नेतृत्वमा एक "विपद् राहत तथा समन्वय समिति" गठन गर्ने ।
यस विषम परिस्थितिमा, नाट्टा आफ्ना सम्पूर्ण सदस्य संस्थाहरू, पर्यटन व्यवसायी, सामाजिक संघसंस्था तथा आम नागरिकलाई आ–आफ्नो तर्फबाट उद्धार तथा राहत अभियानमा स्वस्फुर्त रूपमा सहयोग पु¥याउन हार्दिक अनुरोध गर्दछ । साथै, हाललाई उच्च जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न / नगराउन र आधिकारिक निकायबाट सम्प्रेषित सूचनालाई मात्र आधार मान्न सम्पूर्ण सरोकारवालाहरूमा विशेष आग्रह गर्दछौं ।
राजकुमार देवकोटा
महासचिव – नाट्टा
